नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
झापा


राहदानी

 

 

 

 

 

 

 

 

 

A. एमआरपि र हस्तलिखित राहदानी

१. एम आर पि (MRP) भनेको के हो ?

— एम आर पि को पूर्ण रुप Machine Readable Passport (MRP) अर्थात ‘यन्त्रवाचक राहदानी’ हो । यो एमआरपिको डाटा पेज (पेज नं.३ जसमा वाहकको फोटो लगायतका सूचनाहरु राखिन्छ) मा रहेको सूचनाहरु मेशिनले पढ्न सक्ने हुँदा सूचनाहरु सजिलै मेशिनद्वारा extract गर्न सकिन्छ । हस्त लिखित राहदानीको तुलनामा यो सजिलो र सुरक्षित हुन्छ ।

२. के एमआरपि बनाउनु अनिवार्य छ ?

– ICAO को नियम अनुसार नोभेम्बर २४, २०१५ पश्चात एमआरपि नभई विदेश भ्रमण गर्न पाईने छैन ।

 

B. एमआरपि बनाउने सम्बन्धमा

१. नयाँ एमआरपि बनाउन के गर्ने ?

    नयाँ एमआरपि बनाउनका लागि रीत पूर्वक राहदानी फाराम भरी एमआरपिलाई तोकिए अनुसारको फोटो खिची सम्बन्धित जिल्ला प्रशासन कार्यलयबाट वा द्रुत सेवाको लागि राहदानी विभाग, नारायणहिटीबाट आवेदन दिन सकिन्छ । कागजात रुजु भए पश्चात राहदानीका लागि तोकिएको शुल्क तिरी आवेदन दिनु पर्दछ । राहदानीको निमित्त आवेदन निम्न अनुसार दिन सकिन्छ ।

क) आवेदक नेपालमा भए

    राहदानी आवेदक नेपालमा रहेको अवस्थामा साधारण सेवाका लागि जुन जिल्लाबाट नागरिकता/नाबालक परिचयपत्र जारी गरिएको हो सोही जिल्लामा स्वयं उपस्थित भई आवेदन दिन सकिन्छ ।

   यदि आवेदकलाई राहदानी तुरुन्त आवश्यक परी द्रुत सेवामा राहदानी लिनु पर्ने छ भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट फोटो सहितको सिफारिश (नागरिकता प्रमाणपत्र/नाबालक परिचयपत्रको प्रमाणीकरण) लिई राहदानी विभाग नारायणहिटी काठमाण्डौमा आवेदन दिनु पर्दछ । विभागबाट आवेदन दिँदा Online मार्फत Pre-enrollment फारम भरी सो को प्रिन्ट वा Barcode Number लिई आउनुपर्नेछ ।

ख) आवेदक विदेशमा भएमा

  विदेशमा रहेका नेपालीहरुले राहदानीका लागि आवेदन दिदा त्यहाँ अवस्थित नेपाली राजदूतावास वा यदि उक्त देशमा राजदूतावास रहेनछ भने उक्त देश जुन नेपाली राजदूतावासको कार्यक्षेत्र भित्र पर्दछ सोहि नेपाली राजदूतावासमा आवेदन दिन सकिन्छ । विदेशमा आवेदन दिँदा द्रुत सेवा उपलब्ध छैन ।

 

२.राहदानी बनाउन के के कागजात आवश्यक हुन्छ ?

क) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र (१ प्रति प्रतिलिपि सहित)

ख) नावालिग (१६ वर्ष उमेर पूरा नभएको)को हकमा जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नाबालक परिचयपत्रको सक्कल (१ प्रति प्रतिलिपि सहित),बाबु र आमाको सक्कल नागरिकता (एक एक प्रति प्रतिलिपि सहित)

 

(साथै बाबु र आमामध्ये कुनै एक वा नाबालक परिचयपत्रमा नाम उल्लेख गरिएको संरक्षक अनिवार्य उपस्थित हुनुपर्ने)

 

ग) द्रुत सेवा ( एक दिन – रु १५,०००, दुइ दिन – रु १२,००० वा तिन दिन – रु १०,००० ) अन्तर्गत राहदानी विभागमा आवेदन दिनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट निर्धारित ढाँचामा उपलब्ध गराईएको नागरिकता/नाबालक परिचयपत्र प्रमाणिकरण

घ)पहिला राहदानी लिएको भए सोको सक्कल (१ प्रति प्रतिलिपि सहित)

ङ)Online मार्फत Pre-enrollment (पूर्व दर्ता प्रणाली) बाट आवेदन गरेको फारम प्रिन्ट गरी निकाल्न वा Barcode Number प्राप्त गर्न, यस विभागको web page www.nepalpassport.gov.np मा Log In गर्नुहोस् वा Mobile app ‘Nepal Passport’ प्रयोग गर्नुहोस् ।

च) विरामी, वालक, वृद्ध वा अशक्तको हकमा पुरानै ढाँचाको ICR (Intelligent Character Recognition) फर्म Manually भरी पेश गर्न सकिने ।

मसंग राहदानी विभाग,काठमाडौंबाट जारी भएको पुरानो हस्तलिखित राहदानी छ, मैले पुनः राहदानी विभागबाट MRP आवेदन दिन जिल्लाको सिफारिस ल्याउनु पर्छ?

पर्छ । हस्तलिखित राहदानीको Digital अभिलेख नरहने हुँदा जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित गरि राहदानी विभागमा आवेदन दिन सकिन्छ । एक पटक यस विभाग वा जिल्ला प्रशासन कार्यालयबाट MRP को लागि कागजातहरु पेश गरेर MRP प्राप्त गरिसकेपछि, पुन: अर्कोपटक MRP आवेदन दिंदा त्यस्तो जिल्ला प्रमाणिकरण आवश्यक पर्दैन किनभने MRP जारी गर्दा पेश भएको कागजातहरुको Digital अभिलेख राहदानी बिभागमा राख्ने गरिन्छ ।

विदेश स्थित कूटनीतिक नियोगबाट MRP आवेदन दिन जिल्लाको सिफारिस बुझाउन पर्छ?

पर्दैन । तर विदेश स्थित कूटनीतिक नियोगबाट जारि भएको MRP पाना सकिइ अथवा अन्य कुनै कारणले नवीकरण गर्नुपर्ने अवस्थामा भने त्यस्तो जिल्ला प्रमाणिकरण (नागरिकताको अभिलेख सम्बन्धि) अनिवार्य गरिएको छ । साथै विदेशमा रहेका नेपालीहरुसंग पुरानो राहदानी वाहेक अन्य कागजातहरु साथमा नहुन सक्ने,भएपनि नागरिकताको प्रमाणिकरण गर्न सम्भव नहुने लगायतका समस्याहरु पर्न गई सर्वसाधारणले झन्झट बेहोर्न नपरोस् भनि यस्तो ब्यवस्था गरिएको हो।

३. राहदानीको निमित्त राजश्व दस्तुर कति लाग्छ ?

क) नेपालमा

अ) जिल्ला प्रशासन कार्यालयबाट नयाँ राहदानी बनाउदा वा राहदानी नविकरण गर्दा रु.५,०००/–

आ) द्रुत सेवामा राहदानी विभाग काठमाण्डौबाट राहदानी लिँदा रु.१५,०००/- शुल्क तिरेर एकै दिनमा राहदानी बनाउन सकिने छ त्यसै गरि रु.१२,०००/- शुल्क तिरेर फारम बुझाएको भोलिपल्ट पाईने र रु.१०,०००/- शुल्क तिरेर ३ दिनमा पाइने छ ।

इ)पुरानो राहदानी हराएकोमा वा राहदानीमा क्षति पुगी नयाँ बनाउनु पर्ने अवस्थामा थप दस्तुर रु.५,०००/– लाग्नेछ ।

ख) विदेशमा

 हराएको वा राहदानीमा क्षति पुगी नयाँ बनाउनु पर्ने अवस्थामा

अ)यस प्रकारको रकम देश अनुसार फरक पर्ने हुँदा सम्बन्धित स्थानमा रहेको नेपाली राजदूतावासमा बुझ्नु होला ।

४. राहदानीमा उल्लेखित विवरण संशोधन गर्नु परेमा के गर्ने ?

  एमआरपि संशोधनका लागि सोहि पुस्तिकामा संशोधन हुन नसक्ने हुँदा राहदानी पुस्तिका नै बदल्नु पर्ने भएकोले नयाँ राहदानी नम्बर आउने हुन्छ । यसका लागिः

क) सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा राहदानी विभागमा आवेदन दिन सकिन्छ ।

ख) राहदानीको लागि बुझाईएको फाराममा निवेदक बाटै गल्ति भएको रहेछ भने राहदानी जारी भएको मितिले एक वर्ष भित्रमा संशोधन शुल्क रु.५०००/–लाग्छ भने त्यस पश्चात नियमित शुल्क लाग्ने हुन्छ ।

ग) फाराममा भरेको विवरण अनुसार नभई राहदानी छपाई प्रक्रियाका कारण त्रुटी हुन गएमा राहदानी जारी मितिको एक वर्ष भित्रमा(राहदानी प्रयोगमा न आएको भए मात्र ) विभागबाट निःशुल्क संशोधन हुन्छ । तत् पश्चात भने बुँदा(ख)मा उल्लिखित शुल्क लाग्ने हुन्छ ।

 

C. हस्तलिखित राहदानीको म्याद वहाल रहेकोमा

१. म सँग हस्तलिखित राहदानीको म्याद वहाल छ , के एमआरपि बनाउनु अनिवार्य छ ?

 अनिवार्य छ  । ICAO को नियम अनुसार नोभेम्बर २४,२०१५ पश्चात एमआरपि नभई विदेश भ्रमण गर्न पाईने छैन ।

२. हस्तलिखित राहदानीको म्याद वहाल हुँदै एमआरपि बनाउन सकिन्छ ?

  सकिन्छ । यसको लागि नयाँ एमआरपि बनाउदा अबलम्बन गर्नुपर्ने प्रक्रिया पूरा गर्नु पर्दछ ।

 

D. हस्तलिखित राहदानीमा भिषाको म्याद वहाल रहेकोमा

१. मेरो हस्तलिखित राहदानीमा भिषाको म्याद छ , एमआरपि बनाउन सकिन्छ ?

 सकिन्छ । पुरानो हस्तलिखित राहदानीमा भिषाको म्याद वहाल रहेको अवस्थामा पनि नयाँ एमआरपि बनाउन सकिन्छ । नयाँ एमआरपिमा पुरानो हस्तलिखित राहदानीको नम्बर राखिने भएकोले पुरानो राहदानीमा भएको भिषाको आधारमा बिदेश भ्रमण गर्न सकिन्छ । यस प्रकार नयाँ एमआरपी जारी हुँदा पुरानो राहदानीमा cancelled without prejudice भन्ने ब्यहोराको छाप लगाईने हुँदा भिषा cancel हुँदैन ।

 याद गर्नुहोस भिषाको म्याद वहाल रहेको अवस्थामा उक्त राहदानीमा प्वाल पार्ने वा भिषामा नै cancelled छाप नलागोस भन्नका लागि राहदानी जारी गर्दाका वखत cancel गर्ने अधिकारीलाई जानकारी गराउनु पर्दछ । यसरी एमआरपी लिदाको अवस्थामा दुबै राहदानी सँगै लिई यात्रा गर्नु पर्दछ ।

 

E. द्रुत सेवा प्रक्रिया

  राहदानी तत्काल जरुरी परि द्रुत सेवामा बनाउनु परेमा राहदानी विभाग काठमाण्डौँमा आवेदन दिनु पर्दछ । यस्तो सेवा जिल्ला प्रशासन कार्यालय वा विदेश स्थित नेपाली नियोगहरुबाट प्राप्त गर्न सकिदैन ।

१. राहदानी विभागबाट द्रुत सेवाबाट एमआरपि लिन के गर्नु पर्छ ?

 आफ्नो नागरिकता प्रमाणपत्र जारी भएको जिल्ला प्रशासन कार्यालयबाट वा बसाई सराई भएकोमा बसाई सराई भएको जिल्लामा अवस्थीत प्रशासन कार्यालयबाट प्रमाणित गरी राहदानी विभागमा आवेदन गर्न सकिन्छ । यसका लागि थप दस्तुर लाग्ने हुन्छ र प्राविधिक वा अन्य कारण भएमा बाहेक सामान्यत: आवेदन दिएको तेस्रो कार्यदिनमा राहदानी जारी गर्ने गरिएको छ ।

२. नागरिकता प्रमाणपत्र प्रमाणीकरण कसरी गर्ने ? र के यो आवश्यक नै हो ?

  नागरिकता प्रमाणपत्र जुन जिल्ला प्रशासन कार्यालयबाट जारी भएको हो त्यही जिल्लाबाट प्रमाणित गरिन्छ । यसमा आवेदकको फोटो टाँसी त्यसमा सम्बन्धित अधिकारीको दस्तखत गरिएको हुन्छ । नागरिकता प्राप्त गरेको जिल्लाबाट बसाई सरेको अवस्थामा बसाईसराईको कागजात लिई हाल बसोबास गरेको जिल्लाबाट पनि प्रमाणीकरण गर्न सकिन्छ । नागरिकता प्रमणिकरण नभै राहदानी विभागमा आवेदन स्वीकार हुदैन ।

३. राहदानी विभागमा कसरी आवेदन गर्ने ? कति बजेबाट आवेदन संकलन काउन्टर खुल्छन ? कति बजे सम्म आवेदन बुझाउन सकिन्छ ?

  राहदानी विभागमा आईतबार विहान ७:०० बजेबाट शुरु भई बेलुकी ४:४५ बजेसम्म, सोमबारबाट बिहिबार विहान ९:०० बजेबाट शुरु भई बेलुकी ४:४५ बजेसम्म र र शुक्रबार विहान ९:०० बजेबाट शुरु भई दिउसो २:४५ बजेसम्म राहदानी आवेदनका निमित्त टोकन नम्बर बितरण हुन्छ ।

 

४. आवेदन बुझाएपछि एमआरपि लिन आउने मिति र समय कसरी थाहा पाउने ?

 राहदानीका लागि आवेदन दिदाको दिन राहदानी लिन कहिले आउने भन्ने जानकारी गराईन्छ ।

५. आवेदन बुझाएपछि एमआरपि लिन तोकिएको मितिमै आउनु पर्छ ?

  राहदानी लिन तोकिएको मितिमै आउनु पर्दछ । कथं कदाचित सो दिन उपस्थित हुन नसकेमा सार्वजनिक विदा नपरेको दिन अफिस खुल्ने समयमा आई लिन सकिन्छ ।

 

F. राहदानी सम्बन्धि विस्तृत जानकारी कहाँ पाइन्छ ?

  —राहदानीको लागि आवश्यक फाराम, फोटो लगाएतका विस्तृत विवरण विभागको वेबसाइट www.nepalpassport.gov.np मा अथवा मोबाईल एप्स ‘Nepal Passport’ डाउनलोड गरी हेर्न सकिनेछ ।

 सावधानः राहदानी बनाउन प्रचलित कानूनमा उल्लिखित शुल्कको अतिरिक्त कुनै थप शुल्क तिर्नु पर्दैन, कसैले कुनै पनि वहानामा अनधिकृत रुपमा रकम मागेमा गोप्य रुपमा उजुरी दिन सकिनेछ । हुलाकबाट वा विभागको इ–मेल communication@ nepalpassport.gov.np मार्फतपनि यस्ता उजुरी गर्न सकिनेछ । विभागमा सेवा लिँदा नेपाल सरकारले तोकेको राजश्व रकम बाहेक कुनै थप रकम कसैलाई बुझाउनु पर्दैन । यस प्रकारको कुनै उजुरी भएमा सिधै देहायको ठेगानामा जानकारी गराउन सकिन्छ :–

 

 

श्री महानिर्देशक

राहदानी विभाग, नारायणहिटी

टेलिफोनः ०१–४४१६०१०,११,१२,१३,१४,१५

ई–मेलः dg@nepalpassport.gov.np

वेभसाइटः www.nepalpassport.gov.np

 

 

 

 

 

 

 राहदानीको निवेदन फाराम भर्ने तरिका

(क) फारामको शिरमा राहदानीको लागि जुन कार्यालयमा निवेदन पेश गरिएको हो सो कार्यालयकोे नाम उल्लेख गर्नुपर्नेछ ।

ख) राहदानी अङ्ग्रेजी भाषामा तयार गरिने हुनाले राहदानी माग गर्ने निवेदकले तोकिएबमोजिमको फाराम कम्प्युटर टाइप गरी पेश गर्नु पर्नेछ । फाराम भर्दा एक कोठा भित्र एक अक्षर मात्र पर्ने गरी सफा र शुद्धसँग भर्नुपर्नेछ । यदि स्पेस दिनु परेमा सो को लागि एक कोठा खाली छाड्नुपर्नेछ ।

(ग) निवेदकको नाम, थर तथा ठेगानालाई अङ्ग्रेजी भाषामा लेख्दा हिज्जे फरक पर्न सक्ने हुँदा पुरानो राहदानी भएमा सो अनुसार र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित हिज्जेलाई ध्यान दिनुपर्नेछ ।

(घ) राहदानीको निवेदन फाराममा १७ खण्डहरु रहेका छन् । ती खण्डहरुलाई निम्नानुसार क्रमैसँग भर्नुपर्नेछ । फाराममा ८ चिन्ह दिइएका खण्डहरु अनिवार्य रुपमा भर्नुपर्नेछ ।

(१) थर (Surname) भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित थर लेख्नुपर्नेछ ।
(२) नाम (Given Name) भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको नामको पहिलो र बीचको नाम लेख्नु पर्नेछ । उदाहरणका लागिः

पूरा नाम कृष्ण बहादुर थापा भएका निवेदकले थरमा Thapa र नाममा Krishna Bahadur लेख्नुपर्नेछ ।
बिवाहितमहिलालेआफ्नो माइती र पति दुवैको थर लेख्न चाहेमा त्यसो गर्न सकिनेछ । जस्तैः गीता कुमारी गौतम खनाल पूरा नाम भएकी निवेदकले थरमा Gautam Khanal नाममा Gita Kumari लेख्नु पर्नेछ । त्यस्तोमा विवाह दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

बिवाहित महिलाले आफ्नो माइती तर्फो मात्र थर लेख्न चाहेमा त्यसो गर्न सकिनेछ । तर पति तर्फो थर राख्न चाहेमा विवाह दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

(३) जन्मस्थान (Place of Bi rth) सम्बन्धी खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्मस्थानको जिल्ला भर्नुपर्नेछ ।
(४) राष्ट्रियता (Nationality) सम्बन्धी खण्ड भर्दा अङ्ग्रेजीमा NEPALESE भर्नु पर्नेछ ।

५) (क) जन्ममिति (Date of Birt h) खण्ड भर्दा निवेदकले नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्ममिति बिक्रम सम्वतमा र त्यसलाई रुपान्तरण गरी इश्वी सम्वतमा समेत लेख्नु पर्नेछ ।

विक्रम सम्वतबाट इश्वी सम्वतमा रुपान्तरण गर्दा ७ दिन सम्मको फरक परेमा सो को पुष्ट्याइ गर्ने प्रमाण पेश गरेमा सो बमोजिमको जन्ममिति राहदानीमा उल्लेख गर्न सकिनेछ । बिक्रम सम्वतबाट इश्वी सम्बतमा जन्ममिति रुपान्तरण गर्दा ३ दिन सम्म फरक परेमा त्यसको पुष्ट्याइ गर्ने थप प्रमाण पेश गर्नु पर्नेछैन ।
माथिखण्ड-क) को अधिनमा रही जन्म मिति भर्दा S.L.C. वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्म मिति र पहिले राहदानी लिइ सकेको भए त्यसमा उल्लिखित जन्म मितिलाई ध्यान दिनु पर्नेछ ।

(६) लिङ्ग (Sex) खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रमा उल्लिखित लिङ्ग भर्नु पर्नेछ ।

(७) नागरिकता वा अनुमति नं. (Citizenship or Permit No.) सम्बन्धी खण्ड भर्दा निवेदकको नागरिकताको प्रमाणपत्रको नम्बर भर्नुपर्नेछ ।

(८) जारीमिति (Date of Issue) मा नागरिकताको प्रमाणपत्र जारी भएको मिति उल्लेख गर्नुपर्नेछ ।

(९) जारी भएको स्थान (Place of Issue) मा नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको नाम लेख्नुपर्नेछ ।

(१०) पूरानो राहदानी वा यात्रा अनुमतिपत्र नं (Old Passport or Travel Document No.) सम्बन्धी खण्ड भर्दा पहिले राहदानी लिएको भए उक्त राहदानीको नम्बर, पहिले एक भन्दा बढी राहदानी लिएको भएमा पछिल्लो राहदानीको नम्बर उल्लेख गर्नुपर्नेछ ।

१०A) जारी भएको मिति (Date of issue) सम्बन्धी खण्ड भर्दा पूरानो राहदानी वा यात्रा अनुमति पत्र जारी भएको मिति उल्लेख गर्नुपर्नेछ ।

(१०B) जारी भएको स्थान (Place of Issue) (११) ठेगाना (Address) सम्बन्धी खण्ड भर्दा पूरानो राहदानी वा यात्रा अनुमतिपत्र जारी भएको ठाउँ उल्लेख गर्नुपर्नेछ ।

(११A-E) ११A देखि E सम्मका खण्ड भर्दा निवेदकको स्थायी ठेगाना भएको जिल्ला, नगरपालिका वा गा.वि.स., वडा नम्बर, टोल वा गाउँको नाम र घर नम्बररब्लक नम्बर भएमा सो समेत क्रमैसँग लेख्नुपर्नेछ । घर नम्बररब्लक नम्बर नहुनेले घर नम्बरको ठाउँ खाली छाड्न सकिनेछ ।

(१२) इमेल (E-mail) सम्बन्धी खण्डमा निवेदकको सम्पर्क इमेल ठेगाना भएमा प्रष्टसँग उल्लेख गर्नुपर्नेछ ।

१३) फोन नं. (Phone No.) सम्बन्धी खण्डमा निवेदकको फोन नंं भएमा प्रष्टसँग उल्लेख गर्नुपर्नेछ । आफ्नो फोन नभएमा परिवारका सदस्य वा नजिकका चिनजानका व्यक्तिको नम्बर दिन सकिनेछ ।

(१४) आपत परेमा खबर गर्ने निकटतम व्यक्तिको ( Next of Kin) खण्डमा निवेदक विदेशमा छँदा कुनै संकट परेमा खबर गर्न सकिने निवेदकको परिवारको सदस्य वा आफन्त वा मित्रको नाम र ठेगाना भर्नुपर्नेछ ।

(१४A-G) १४A देखि १४G सम्मका खण्डमा निवेदक विदेशमा छँदा आपत परेमा खबर गर्ने व्यक्तिको पूरा नाम थर, ठेगाना, जिल्ला, गा.वि.स.रन.पा., वडा नंं, टोलरगाँउ, घर नम्बर, समेत क्रमैसँग भर्नुपर्नेछ ।

(१५) नाता (Relationship) सम्बन्धी खण्डमा आपत परेको बेलामा खबर गर्नुपर्ने व्यक्तिसँग निवेदकको के नाता पर्छ सो उल्लेख गर्नुपर्नेछ ।

(१६) फोन नं.(Phone No.) सम्बन्धी खण्डमा आपत परेमा खबर गर्नुपर्ने व्यक्तिको फोन नम्बर भएमा सो लेख्नुपर्नेछ ।

(१७) इमेल (E-mail) सम्बन्धी खण्डमा आपत परेमा खबर गर्नुपर्ने व्यक्तिको इमेल भएमा सो प्रष्टसँग लेख्नुपर्नेछ ।

(१८) फारामको अन्त्यमा निवेदकको दायाँ र बायाँ बुढी औंलाको छाप प्रष्टसँग लगाउनुपर्नेछ । निवेदक को स ही (A pplicant's Signature) सम्बन्धी कोठामा निवेदकले पूरा हस्ताक्षर गर्नुपर्नेछ । उक्त हस्ताक्षर डिजिटल प्रविधिबाट निवेदकको राहदानीमा राख्नुपर्ने हुँदा हस्ताक्षर पूरा र प्रष्ट नभएमा निवेदक स्वयं जिम्मेवार हुनुपर्नेछ । निरक्षर भएमा हस्ताक्षर गर्नुपर्ने बक्समा × चिन्ह लगाउनु पर्नेछ ।
 

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय